६ पुष, काठमाडौं । राइड सेयरिङ एप पठाओका चालकहरु आन्दोलित भएका छन् । कम्पनीले लिने कमिसन घटाउन माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । सोमबार उनीहरुले काठमाडौंको यूएनपार्कमा जम्मा भएर कमिसन घटाउन माग गर्दै आन्दोलन थालेका हुन् ।
उनीहरुले आन्दोलनमा थप कार्यक्रम पनि अघि बढाउने तयारी गरेका छन् । पठाओ चालकहरुबाट अहिले कम्पनीले यात्रुले तिर्ने भाडाको २० प्रतिशत रकम कमिसनको रुपमा लिने गरेको छ । धेरै कमिसन लिँदा आफूहरुलाई मारमा परेको भन्दै राइडरहरुले कमिसनलाई ८ प्रतिशतसम्म झार्नुपर्ने माग गरेका छन् ।
पठाओका व्यवसायिक चालकहरुले बाइकको बिमा कम्पनीले गरिदिनुपर्ने माग पनि गरेका छन् । त्यसैगरी राइड सेयरिङका क्रममा दुर्घटना भएमा यात्रुले पनि क्षतिपूर्ति र उपचार खर्च पाउने गरी बिमा गर्नुपर्ने उनीहरुको माग छ ।
कम्पनीले सामान्य नियम नमानेकै कराण सस्पेन्ड गर्ने गरेको र कारवाही फकाउन १ हजार १ सयभन्दा बढी जरिवाना तिर्नुपरेको भन्दै नियम संशोधनको माग पनि गरेका छन् । एक पठाओका राइडरका अनुसार कम्पनीले राइडरलाई नासेधी यात्रुको मात्रै कुरा सनेर सस्पेन्ड गर्ने गरेको छ । यसले गर्दा आफूहरु पीडित बनेको उनको भनाइ छ ।












