८ मंसिर, काठमाडौं । दाङका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न प्रशासनले उर्दी जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पत्रकार सम्मेलन गरी अनुमति नलिई सञ्चालन गरिएका १० वटा क्रसर उद्योगलाई १५ दिनमा बन्द गर्न निर्देशन दिएका हुन्।
प्रजिअ आचार्यका अनुसार तुलसीपुर बिजौरीस्थित स्वर्गद्वारी स्क्रिन प्लान्ट, बिजौरीकै जनविश्वास बालुवा वासिङ उद्योग, तुलसीपुरकै गणेश बालुवा वासिङ उद्योग, तुलसीपुरको के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, तुलसीपुरकै मंगलम् बालुवा प्रशोधन उद्योग, लमहीको सतवरीयास्थित बगारवावा बालुवा प्रशोधन उद्योग, लमहीकै पाण्डवेश्वर बालुवा वासिङ उद्योग, लमही सतवरीयाको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवाको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग, पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग, बबईस्थित वासिङ उद्योगलाई क्रसरको काम बन्द गर्न निर्देशन दिइएको हो।
प्रजिअ आचार्य लगायतको टोलीले जिल्लामा सञ्चालनमा रहेका ४० वटा जति क्रसर तथा बालुवा वासिङ उद्योगको अनुगमन गरेपछि दस वटा क्रसरलाई बन्द गर्न निर्देशन दिएको हो।
आचार्यले जिल्लामा क्रसिङका लागि भनेर दर्ता भएका सबै उद्योगले मापदण्ड पूरा गरेको जानकारी दिए। कानुनी रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूले बार्षिक रुपमा करोडौं रुपैयाँ राजश्व तिर्ने गरेका छन्। तर, बालुवा वासिङको अनुमति लिएर क्रसिङ गर्नेहरूका कारण क्रसर उद्योग सञ्चालकहरू मर्कामा परेका थिए।












