समिता श्रेष्ठ
चिटिक्क होस् या सुन्दर देखिनु धेरैको रहर हुन्छ । अरुका अगाडि आफू राम्रै देखिन समय खर्चेर नै मेकअप गरेको देखिन्छ । फरक यत्ति हो कसैले घरमै मेकअप गर्छन् भने कोहि पार्लर पुग्छन् । पार्लर पुग्नेलाई ब्युटीसियनले सिँगारपटार गरिदिन्छन् । यसरी सिँगारपटार गरी अनुहार तथा शरिरमा निखार ल्याउने काम गर्नुहुन्छ रेखा बस्नेत । ब्युटीसियन बस्नेतले पार्लर सञ्चालन गरेको १७ वर्ष भैसकेको छ ।
सुन्दरताबारे श्रेष्ठको परिभाषा
सुन्दरता आँखामा भर पर्छ । देख्ने र नदेख्ने सुन्दरतालाई बुझ्न पनि ज्ञान चाहिन्छ । ‘सुन्दरता नारिहरुको गहना हो । तर त्यो सुन्दरता दुई प्रकारको हुन्छ, उहाँ भन्नुहुन्छ,‘एउटा प्राकृतिक र अर्को कृत्रिम सुन्दरता ।’ प्राकृतिक सुन्दरतालाई आँखाले देख्न सकिदैन तर कृत्रिम सुन्दरतालाई आँखाले नै देख्छ र आँखाले नै मापन गर्छ । प्रदुषण, हावापानी र खानपानले गर्दा बाहिरी सुन्दरतालाई नकारात्मक असर परेको छ ।
त्यसकारण बाहिरी सुन्दरतालाई निखार्नुको लागि ब्युटीटिट्मेन्टको आवश्यकता पर्दछ । अहिलेको जेनेरेसनका लागि प्राकृतिक सुन्दरताको साथ साथै कृत्रिम सुन्दरताले पनि भरिपुर्ण हुनु अति आवश्यक छ । अहिले प्राय मान्छेहरु हरेक ठाउँमा प्रहिलो प्राथमिकता मै हेर्दा टिपटप देखिने, आकर्षक ब्यक्तित्व खोज्ने गर्छन् । त्यसपछि मात्रै उसमा भएको गुणहरु हेरीन्छ । त्यसकारण आत्मबिश्वास बढाउन र आकर्षक देखिन ब्युटीपार्लरले सहज बनाएको छ ।
स्वास्थ र सुन्दरताको सम्बन्ध
स्वास्थ र सुन्दरता अन्तरसम्बन्धित छन् । भित्री रुपमा स्वास्थ्य भए त्यसैका कारण बाहिरी रुपमा सुन्दरता झल्कने गर्दछ । निरोगी ब्यक्तिको मुहारमा स्वतः चमक छुट्टै हुन्छ । स्वास्थ रहन राम्रो खानपान आवश्यक छ । त्यस्तै शरीरमा आवश्यक पानीको मात्रा पुगेको र तनावमुक्त हुने कुराले पनि स्वास्थ र सुन्दरतामा भुमिका निर्वाह गरेको हुन्छ ।
जो ब्यक्तिले राम्रो खानपान, रहनसहन र तनावमुक्त हुनमा ध्यान दिन्छ, त्यो ब्यक्तीको मुहारमा पनि चमक आफै आउने गर्दछ । सुन्दर रहनको लागि स्वस्थ रहनु पनि अति आवश्यक रहेको ब्युटीसियन बस्नेत बताउनुहुन्छ ।
जाडोमा छालाको सुरक्षा
जाडोमा छालाको सुरक्षाका लागि अपनाउनसक्ने उपायबारे बस्नेत भन्नुहुन्छ ः चिसो मौसममा प्रायः सबैको छाला फुस्रो हुने, फुट्ने, चिलाउने र अनेकौं घाउहरु आउने पनि हुन्छ । त्यसकारण चिसोबाट सुन्दरतालाई बचाई राख्नको लागि आफ्नो छालालाई सुहाउने लोसनहरु, मोस्सराइजरको प्रयोग गर्नुपर्छ । त्यसको साथसाथै चिसोबाट छालालाई जोगाउन न्यानो कपडा लगाउने गर्नुपर्छ ।
पानी प्रयाप्त मात्रामा पिउनु पनि अती जरुरी हुन्छ । हाम्रो शरीरमा पानीको मात्रा कम भएमा छाला सुख्खा भएर कत्ला कत्ला पर्ने हुन्छ । त्यसको साथै राती सुत्ने बेला पनि राम्रोसंग सफा पानीले धोएर मोस्सराइजर वा लोसन आफ्नो स्किनलाई सुहाउँदो प्रयोग गर्नु आवश्यक हुन्छ । धेरै चिसो पानीको प्रयोग नगर्ने र सकेसम्म मनतातो पानीको प्रयोग गर्नुपर्छ ।
लगानी १२ हजार अहिले ८ लाख
बस्नेतले १२ हजार रुपैयाँ लगानी गरि पार्लर थाल्नुभएको हो । तर अहिले ८ लाख जति भैसकेको छ । ८ लाख सरसामग्रीमा भएको लगानी हो । तर पार्लरको आम्दानी कहिले थोरै त कहिले धेरै हुने उहाँको अनुभव छ । ‘कहिले दिनमा २ सय मात्रै पनि कमाई हुन्छ, कहिले १५ हजार पनि हुन्छ । तर म यो पेशाबाट सन्तुष्ट छु, उहाँ भन्नुहुन्छ,‘ किनभने यो पेशाले मलाई चिनाएको छ ।
आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाएको छ । आफ्नो छुट्टै परिचय बनाउन यहि पेशाले गर्दा सकेको छु ।’ उहाँ भन्नुहुन्छ,‘पुरानो भैसकेर हो या काम राम्रो भएर हो ग्राहकहरु खोजीखोजी आउनुहुन्छ । कुनै बेला घरायसी काममा व्यस्त हुँदा समेत कुरेर बस्नुहुन्छ ।
प्रायः जसो पार्लरमा चाडपर्व, बिहे आदि इत्यादिमा भिड निकै नै हुने गर्दछ । कुनै कुनै बेला त चियासम्म पनि खाने फुर्सद हुँदैन भने अरु साधारण दिनहरुमा त्यति भिड नहुने भएकोले भ्याइनभ्याई चैँ हुँदैन ।’ब्युटीसियन बस्नेतले पार्लरमा मात्रै नभएर अर्डर अनुसार घर घरमा गएर पनि सेवा दिने गर्नुभएको छ । ‘बिहे, ब्रतबन्ध, पाटीका बेला ग्राहकहरुको घरघरमा नै सेवा दिन पुग्छु ।
मेरो पार्लरमा म आफू मात्रै सिँगार्ने गर्दिन म अरुलाई पनि सिंगार्न सिकाउने गर्छु । आफ्नो स्किन केयर कसरी गर्नु सकिन्छ भनेर सधैं आउने ग्राहकहरुलाई सल्लाह दिने गर्छु, बस्नेतले भन्नुभयो,‘मेरो पार्लरबाट तालिम लिएर आफ्नै पार्लर संचालन गर्नेहरु पनि हुनुहुन्छ ।’
परिवारले गरेको सहयोगले हौसला
रेखा बस्नेतको जन्म काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा भएको हो । बाल्यकालदेखि नै स्वाभिमान र आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने सोंचले यहाँसम्म ल्याइपुर्याएको उहाँ बताउनुहुन्छ । ‘सुरुमा द रेयुकाई संस्थाबाट गाउँ बिकास समितिमा १ महिने पार्लरसम्बन्धि कोर्ष गरेपछि साथिको पार्लर एकता ब्युटी पार्लरबाट ३ महिने बेसिक र त्यसपछि एडभान्स ६ महिने कोर्ष पुरा गरेको हुँ, बस्नेतले भन्नुभयो,‘एक वर्ष जति त्यही बसेर काम गरे ।
त्यसपछि त्यहि सिकेको साथिसंग मिलेर चाबहिल मित्रपार्कमा पार्लर चलाउन थाले ।’ २०६० सालमा उहाँले पार्लर सुरु गर्नुभयो । त्यसपछि २०६१ सालमा बिहे भयो । अनि आफ्नै घरमा पार्लर सुरु गरेर अहिलेसम्म चलेकै छ । ‘मेरो परिवारमा म बाहेक अरु कोहि यो पेशामा आवद्ध हुनुहुन्न्, त्यतिखेर पार्लर पेशालाई राम्रो नजरले हेरिदैनथ्यो तर परिवारले सहयोग नै गर्नुभयो ।
बिहेपछि श्रीमान् र उहाँको परिवारले पनि साथ दिनुभयो । आफ्नै घरमा पसल राख्दा सबै सामानहरु सुरुमा श्रीमानले नै ल्याउनु हुन्थ्यो । बिस्तारै बस्ती बाक्लो हुँदै गयो, पसल चल्दै गयो, अरु पनि खुल्न थाले ।’
कोरोना कारण समस्या : सावधानी अपनाउदै सेवा
कोरोनाको कारण अहिले जताततै तनाव मात्रै छ । हरेक ब्यापार ब्यवसायलाई असर पारेको छ । त्यसमा पार्लर पनि अछुतो छैन । बितेका १८ वर्षदेखि निरन्तर चलेको बस्नेतको पार्लर कोरोनापछि ६ महिना ठप्प भयो । तर सधै बन्द गरेर भएन । ग्राहकलाई सेवा दिन सावधानी अपनाएर काम सुरु भएको छ । ‘हामिले थोरै लगानीबाट पनि पार्लर सुरु गर्न सक्छौँ , उहाँले भन्नुभयो,‘आत्मनिर्भर बन्नु नै अहिलेको मुख्य विषय बनेको छ । अरुमा निर्भर हुनु पर्दैन, घरखर्च चलाउन पुग्छ ।
’









