यातायात मजदुरले सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलन गर्ने

यातायात मजदुरले सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गते लकडाउन गरेदेखि सार्वजनिक यातायात बन्द छन् । जेठ अन्तिममा लकडाउन खुकुलो बनाई अरु व्यवसाय खोल्न दिए पनि सार्वजनिक यातायातसहित केही व्यवसाय अझै बन्द छन् ।

यातायात मजदुरले गाडी चलाउनुपर्ने आवाज उठाउन थालेपछि समितिले बुधबार मजदुर प्रतिनिधिसँग छलफल गरेको थियो । उनीहरुले रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी पनि दिए ।

यातायात मजदुर नेताहरुसँग छलफल गर्दै समितिले विश्व स्वास्थ्य संगठन र कोभिड–१९ क्राइसिस मेनेजमेण्ट कमिटी (सीएमसी) ले बनाएको मापदण्डअनुसार ट्याक्सी सेवा खुला गर्न सरकारलाई निर्देशन दिएको हो ।

सार्वजनिक यातायात नचल्दा ११ लाख मजदुर बेरोजगार भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

लकडाउनको अवधिको बैंकको ब्याज र सरकारले लिने कर मिनाहा हुनुपर्ने, चिकित्सकसरह यातायात मजदुरलाई कोरोना बिमा, स्वास्थ्य सामग्री दिनुपर्ने, नयाँ भाडादर निर्धारण गर्नुपर्ने, विद्यार्थी र बृद्धबृद्धालाई दिँदै आएको भाडा छुट रोक्नुपर्ने उनीहरुको माग छ ।