सेयर बजारमा नयाँ रेकर्ड, हालसम्मकै उच्च विन्दु पुग्यो नेप्से परिसूचक

२५ जेष्ठ, काठमाण्डौ। मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। सोमबार भने स्थिर देखिएको सेयर बजार मंगलबार भने पुनः नयाँ रेकर्ड कायम गराउन सफल भएको छ।

मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । । नेप्सेले परिसूचकमा नयाँ रेकर्ड राख्यो भने कारोबार रकम पनि करिब १७ अर्ब रुपैयाँ पुग्यो ।

१ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर किनबेच भए भने कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँ नाघ्यो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेको छ ।

लघुवित्त समूह २४ दशमलव २१ अंकले घट्दा होटल १६ दशमलव ४६ अंकले घटेको छ । लगानी समूह पनि ०.८८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेको छ ।

सबैभन्दा धेरै विकास बैंक ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ भने फाइनान्स समूह ८ दशमलव ७१ प्रतिशतले उकालो लागेको छ ।