सानिमा लाइफ इन्सुरेन्सको जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा :आइपीओ ल्याउने प्रस्ताव राखेर बोलायो एजीएम

काठमाडौं : सानिमा लाइफ इन्सुरेन्सले आइतबार जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ ।

कोरोना संक्रमणको कारण सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जानकारी दिएको छ । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

[sidebar name="button post"]