Ad #144479

२६ माघ, काठमाडौं । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उहाँले भन्नुभयो, “त्यसमा रेल चालक, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।”

भारतसँगको सम्झौताको विषय आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ । आज नै प्रमाणित सञ्चालन कार्यप्रणाली ९स्टाण्डर्ड ओपरेटिङ प्रोसिडर० पनि बैठकमा छलफल हुनेछ । भारतसँग उताबाट ल्याइने जनशक्ति र आवश्यक सामग्री ल्याउने विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।

कम्पनीसँग खरीद गर्ने सामग्री र जनशक्तिका विषमा कुराकानी भइसकेको छ । उताबाट टोलीले स्थलगत भ्रमणसमेत गरेको थियो । उहाँले भन्नुभयो, “यताबाट पत्र दिनासाथ उताको टोली तयारी अवस्थामा छ ।” नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताउनुभयो । रेल र कम्पनीका सामग्री सुरक्षाका लागि सशस्त्र प्रहरी बस्ने तयारी छ । उहाँले भन्नुभयो, “प्रशासनसँग कुराकानी भइसकेको छ ।”

रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ । उहाँ भौतिकरुपमा वा भर्चुअल उपस्थित हुने भन्ने टुङ्गो नभएको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै देशका प्रधानमन्त्रीको समय मिलेपछि मात्रै उद्घाटनको मिति तय हुनेछ ।”

भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताउनुभयो । कम्प्युटर खरीद सकेर उता लगेर राख्न तयारी अवस्थामा छ । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उहाँले बताउनुभयो । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उहाँले भन्नुभयो, “डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ ।”

सेवा शुरु गर्न आजको मन्त्रिपरिषद्को बैठकले सहज बनाइदिने अपेक्षा गरिएको छ । कम्पनीले अहिले नेपाली कामदारलाई एक साताको तालीम दिइने महाप्रबन्धक भट्टराईले बताउनुभयो । उहाँका अनुसार रेलको महत्व बुझाएर कुनकुन सामग्रीको सुरक्षा आवश्यक छ भनी बुझाउनुपर्छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ । तत्काल काम शुरु गर्न ती व्यक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको दुईदेखि तीन हप्ताभित्र नियमित सञ्चालनको काम सकिन्छ ।”

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना सरकारले लिएको छ ।