बर्दियाकाे मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएकाे छ ।
डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेका अनुसार ज्यान गुमाउनेहरुमा मधुवन नगरपालिका ३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी र २६ वर्षीय रमेश थारु रहेका छन् ।
बिहान जंगलमा च्याउ खोज्न गएका चौधरी दिउँसो सम्म घर नफर्किएपछि उनलाई खोज्न गएका थारुलाई पनि बाघले आक्रमण गरेर मारेको प्रमुख वाग्लेले बताउनुभयो । मृतक दुइ जना साला भेना हुन् । मधुवन नगरपालिकामा एक हप्तामै चार जनालाई बाघले मारेको छ । बितेको साढे एक वर्षमा बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला बन क्षेत्रमा पाटे बाघको आक्रमण परि ९ जनाको ज्यान गएको छ ।
बाघले घाँस दाउरा लिन जंगल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ । मानिसलाई बारम्बार आक्रमण गर्ने बाघलाई नियन्त्रण गर्नुपर्ने भन्दै मृतक चौधरी र थारुका आफन्तले शव बुझ्न मानेका छैनन् ।












