Ad #144479

कार्तिक ५ ,पाँच वर्ष पछि पुरानै स्वरुपमा फर्किएको रानीपोखरीको उद्घाटन आज हुँदैछ । २०७२ सालमा भूकम्पले भत्केपछि झण्डै तीन वर्ष काम थाल्ने र भत्काउने प्रकृयामै अल्झेको रानीपोखरीले पुर्नजिवन पाएपछि आज उद्घाटन हुन लागेको हो ।

ऐतिहासिक सम्पदा रानीपोखरी उद्घाटन भएसँगै सबैका लागि खुला हुनेछ । अबदेखि सुरक्षाकर्मीले सुरक्षा गर्नेछन् । बालगोपालेश्वर मन्दिर परम्परागत मान्यता अनुसार वर्षको एकदिन भाइटीकामा खुल्ने गर्छ । यो मन्दिर पनि पाँच वर्षपछि यसपालिको भाइटीकामा खुल्ने भएको छ । रानीपोखरीमा झण्डै तीन करोड लिटर पानी भरिएको छ ।

सरकारले २०७५ माघमा काठमाण्डौ महानगरपालिकाबाट खोसेर रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि फागुनदेखि उपभोक्ता समितिमार्फत सुरु भएको काम सकिएको हो ।

गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम भएपनि कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउनका कारण र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो पटक असोज ३ गते संविधान दिवसका अवसरमा रानीपोखरी उद्घाटन गर्ने तयारी गरे पनि त्यसबेला पनि हुन सकेको थिएन ।