Ad #144479

सरकार र अनशनरत डाक्टर गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । चिकित्सा शिक्षा सुधार लगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग गएराती सहमती भएको हो । सहमति भएसँगै डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने तयारी भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवं जनशक्तिको व्यवस्था गरी आउँदो शैक्षिक सत्रदेखि एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, सुदूरपश्चिमको गेटा मेडिकल कलेज सञ्चालनका लागि आगामी संसद् अधिवेशनबाट एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयक पास गर्ने, भौतिक पूर्वाधार तयार गरी २०८० फागुन १० भित्रै एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमती भएको छ ।

यस्तै बर्दिबास मेडिकल कलेजका पूर्वाधारसम्बन्धी बाँकी काम सक्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ अनुसार २०८० फागुन १० भित्रै शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने र भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिने, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन–०७५ अनुसार २०८० फागुन १० भित्र एमबीबीएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्न पर्याप्त बजेट विनियोजन गर्ने उल्लेख छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन गर्ने र २०८० फागुन १० भित्रै एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने , डोटी वा डडेल्धुरा, इलाम वा पाँचथरमा मेडिकल कलेज खोल्न एक वर्षभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काम अगाडि बढाउने सहमती भएको छ । सप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणलाई तिव्रता दिने सहमति पत्रमा उल्लेख छ ।

कोरोनाको पीसीआर परीक्षण बढाउने, कोभिड तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता विस्तार गर्ने , अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने, विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य प्रतिष्ठानसम्बन्धी विधेयकको तीन हप्ताभित्र सुझाब सहितको मस्यौदा तयार पार्ने र कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्त गर्ने सहमति भएको छ ।