नेपाल खुला दिसामुक्त भएको एक वर्ष

नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको एक वर्ष पुगेको छ । अघिल्लो वर्ष आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गर्नु भएको थियो ।

२०६८ साल असारमा पहिलो पटक कास्कीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । त्यस्तै अघिल्लो वर्ष असोज ४ गते भोजपुरलाई खुला दिसामुक्त घोषणा गरेसँगै नेपाल खुला दिसामुक्त बनेको हो । यो सँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको छ ।

अन्तर्राष्ट्रिय सरसफाइ वर्षको अवसरमा सन् २००८ मा नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउँदै पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको थियो । दिगो विकास लक्ष्य सहितका पूर्ण सरसफाइका क्रियाकलाप एकीकृत रुपमा अगाडी बढाउन तीन तहका सरकार लागिपरेका बेला कोरोना महामारीले असर पारेको खानेपानी मन्त्रालयले जनाएको छ ।

साथै कोरोना भाइरस रोक्न समेत प्रभावकारी उपाय मानिएको साबुनपानीले हात धुने विषयलाई एक महिनासम्म अभियानका रुपमा सञ्चालन गर्ने पनि मन्त्रालयले जनाएको छ । ‘हातको सरसफाइ सबैका लागि–साबुन पानी हात, सधै साथसाथ’ नाराका साथ आजदेखि एक महिना अभियान चल्ने भएको छ ।

अभियानमा मन्त्रालय, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति नेपाल वास र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्र लगाएतको सहकार्यमा व्यक्तिगत, घरायसी, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालयमा साबुनपानीले हात धुने व्यवहारका नौला र सिर्जनशील उपाय एवं प्रविधिको प्रयोग तथा कार्यान्वयन गरिनेछ ।

मन्त्रालयले तीन तहका सरकारका साथै निजी क्षेत्र, सामुदायिक संस्था, आम नागरिकलाई आ आफ्नो क्षेत्रमा उपलब्ध स्रोत साधनबाटै साबुन पानीले हात धुने क्रियाकलाप गर्न÷गराउन आग्रह गरेको छ । नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियान चलिरहेको छ ।

[sidebar name="button post"]