अनिता धिताल
काठमाण्डौ । काम गर्ने उमेर समूहका धेरै युवा यो बेला घरमै बसेका छन् । ६ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले कामकमाई ठप्प छ । घरबाहिरै निस्कन नपाएपछि पर्नु पिर परेको युवाहरुको गुनासो छ । कोरोनाबाट जोगिनुपर्नेछ । घरमा बस्दा पनि वाक्क दिक्क भैसकेको छ । गरिखाने उमेरको जोशजाँगर कोरोनाले मारिसकेको गुनासो केहि युवाहरुले कागेश्वरी खबरलाई सुनाएका छन् ।
काठमाण्डौ मकलबारीका अच्चुत चापागाई भन्नुहुन्छ,‘अहिले म जस्ता अनेकौ युवाहरु अन्योलमा परेका छन् । पढाई सक्काएर विभिन्न काम गर्छु भनेर धेरैले योजना बनाएका थिए, त्यस्तै योजना मैले पनि बनाएका थिए । दुई तिन वर्षको ग्यापपछि जया मल्टिपल कलेजमा स्नातकोत्तर चौथो तहमा पढदै गर्दा यो महामारीले न जाचँ दिन पाएका छौ, न त अरु सोंच्न नै, आफुले चलाउदै आएको रेमिट्यान्स र ट्राभल एजेन्सी पनि डामाडोल अवस्थामा छ ।
अब कसरी पहिलाको अवस्थामा पुगिएला जस्तो भइरहेको छ । पढाई सकाएर बहिर जाने योजना बनाएकोमा त्यो पनि महामारीको कारण चौपट्रटै भयो ।’
काठमाण्डौ जोरपाटीका समिर धितालपनि अस्तव्यस्त भएको गुनासो गर्नुहुन्छ,‘हाल फैलिरहेको कोरोना महामारी जोखिमका कारण जारी निषेधाज्ञा बढदै गर्दा सबैको मनमा डर, त्रास र चिन्ता उत्पन्न भएको छ । उद्योग, व्यापार व्यवसाय ठप्प भएपछि कयौ मानिसको रोजगार गुमेको छ ।
महामारीकै कारण पढाईमा निकै असर पारेको छ । एयरपोर्ट ग्राउण्ड ह्याण्डलिङ इन्र्टनसिप सकाएर बाहिर जाने विचार थियो । महामारीको कारण परिक्षा समेत हुन सकेको छैन, जसले गर्दा भविष्य के हुने हो भनेर चिन्ता लागिरहेको छ । हाम्रो पुस्ताले भूकम्प भोग्यो । कोरोना भोग्दैछ ।
महामारीकै कारण घरमा सुतेर दिन बिताउनुपरेको अवस्था छ । घरमा बस्दा बस्दा वाक्क दिक्क भैसक्यो, दिमागमा अनेक कुरा खेल्छन् ।’
माकलबारीकै अशोक सापकोटाको अनुभव पनि उस्तै छ । विगत चैत देखि भएको लकडाउन र निषेधाज्ञा ६ महिना बितिसक्दा पनि नियन्त्रण हुन सकेको छैन । यसले ठुलो असर पारेको छ । लकडाउन बिचमा एक पटक जोर बिजोर प्रणालीबाट खुल्ला गरेपनि पछिल्लो समयमा झन् भयावह परिस्थिती सिर्जना भएको छ ।
अहिलेको परिस्थितीमा झन् संक्रमणको संख्या अति नै बढी रहेको छ । हामी युवा वर्गमा पनि लकडाउनले अति नै गम्भीर असर परेको छ । म एक विद्यार्थी हूँ, परिक्षा कुरिरहेको छु, पढेका कुराहरु पनि अब त बिर्सन लागिसक्यौँ, पढौँ भन्दा दिनमा यति संक्रमण भयो भनेको सुन्दा दिमाखमा छुट्रै असर पर्न थालेको छ ।
यस्तो समस्या मलाई मात्र होईन, म जस्ता हजारौँ विद्यार्थीहरुलाई परिरहेको जस्तो लाग्छ । मानिसहरुलाई बिहान खाए बेलुकाको पिर, बेलुका खाए बिहानको पिरले मानसिक तनाव समेत उत्पन्न गराएको छ । मैले बैशाखबाट केहि गर्छु भनेर योजना गरेको थिए, तर परिस्थिति यस्तो सृजना भयो ।
अहिलेको परिस्थिति र मेरो योजना अन्र्तगत भएको केहि अलपत्र काम देख्दा अत्यास लागेर आउछँ । तर यो मलाई मात्र होइन म जस्ता हरेक युवाहरुले आफनो भविष्यका लागी सुरु गरेको केहि योजनामा मलाई जस्तै सबैलाई अत्यास लागेको छ, जस्तो मलाई लाग्छ ।
काठमाण्डौ दक्षिणढोकाका बिष्णु धिताल लकडाउन र निषेधाज्ञाको अनुभव सुनाउँदै भन्नुहुन्छ,‘महामारीको यो बेला हामीले आफ्नै जिवन सुरक्षाको निम्ती जीवन जति नै कष्टकर किन नहोस् स्वर्कानुपर्ने अवस्था छ । सरकारद्धारा जारी निर्देशनलाई सजगता सहित सहयोग गरेर यस महामारी विरुद्धमा एक ढिका भएर उभिन सकियो भन महामारीबाट मुक्त हुन सक्थ्यौ ।
लकडाउन पक्कै पनि समस्याको समाधान त हैन, धेरैको यसैको कारण रोजी रोटी खोसिएको छ । बेरोजगारी पनि उतिकै मात्रामा बढेको छ । तर लकडाउनलाई सकरात्मक हिसाबले हेर्ने हो भने लकडाउनले नागरिकहरुलाई मुख्य कुरा संघर्ष नै जिन्दगी हो र जिउँनको लागि कसरी समस्यासँग जुधेर अगाडि बढने भन्ने कुराको ठुलो पाठ समेत सिकाएको छ ।
म बंैकमा कार्यरत छु, साथ साथै शिक्षालाई पनि सगैँ अगाडी बढाउदै आएको छु । यस कठिन परिस्थितिमा काम र पढाईमा असर त सबैलाई पारेको छ । केहि मानसिक तनावले स्वास्थ्यमा पनि ठुलो संकट उत्पन्न गरिदिएको छ ।
काठमाडौँ कपन बस्ने अशोक पराजुलीले पनि यो महामारीले असर पुर्याएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘अहिलेको कठिन परिस्थितिमा म जस्ता हजारौँ युवाहरु अलमल्लमा परेका छन् । म विद्यार्थी हुँनाले मेरो पढाईको चिन्ता छ । व्यापारीलाई व्यवसायको चिन्ता होला ।
सबैलाई चिन्ता छ । विद्यार्थीको पढाई लाथालिङ अवस्थामा छ, उच्च तहका सम्पुर्ण परिक्षाहरु पनि स्थगित भएका छन्, कहिले हुने भन्ने अझै सम्म टुङगो लाग्न सकेको छैन । अहिलेको कठिन परिस्थितिमा घरमै बन्दी भएर बस्नु पर्दा कतिपय म जस्ता युवाहरुमा डर, चिन्ता र मानसिक तनाव सृजना भएको छ ।
यसरी घरमा बस्दा अनेक कुराहरु दिमाखमा खेल्छन् । अब यो नियन्त्रण भएपछि पनि रोजगार हुदैन, पढाई पनि निरन्तरता दिनु पर्ने र भविष्य सम्झिदा डर र चिन्ता मात्रै लागेर आउँछ ।









