यसपाली कागेअष्टमी मेला नहुने : दर्शनार्थीलाई मेला भनेर नआउन आग्रह

प्रल्हाद अधिकारी

६ भदौ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा लाग्ने कागेअष्टमी मेला यसपाली नहुने भएको छ ।

भाद्र शुक्ल अष्टमी दिन लाग्ने कागेअष्टमी मेला यो वर्ष स्थगित गर्ने निर्णय भएको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण जोखिम र सरकारले गरेको निषेधाज्ञाका कारण कागेअष्टमी मेला पनि नहुने कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेलले कागेश्वरी खबरलाई जानकारी दिनुभयो ।

कोभिड १९ को महामारीको अवस्थामा जमघट, भेला, पूजा, आरती, मेला, भजन कृतन जस्ता काममा सरकारले रोक लगाएको छ । कोरोना भाइरस एकबाट अर्कोमा सर्ने रोग भएकाले संक्रमण रोग फैलन नदिन मेला स्थगित गर्ने निर्णय भएको गजुरेलले बताउनुभयो ।

गरिमा र महिमा

नगरपालिकाको नाम नै कागेश्वरी मनोहरा नगरपालिका भएकाले पनि यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिएको छ । कागेअष्टमी मेला तीन दिनसम्म चल्ने गरेको छ ।

किंवदन्तीअनुसार परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको मानिन्छ ।

रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल ल्याई कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा समेत पूरा हुने जनविश्वास रहिआएको छ । यो ऐतिहासिक महत्व बोकेको धार्मिक स्थलका रूपमा पनि परिचित छ ।

सत्ययूगमा सतीदेवीको अङ्ग पतन भएर कागेश्वरी महादेवको शिवलिङ्ग उत्पन्न भएको हो भन्ने विभिन्न शास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ ।

दर्शनार्थीलाई मेला भनेर नआउन आग्रह

गोसाइँकुण्डको जल कागेअष्टमीका दिन कागेश्वरी मन्दिरमा ल्याएर चढाउने परम्परा छ । यो वर्ष त्यो परम्परालाई वैदिक हिसाबले मात्रै संचालन गर्ने तयारी छ । मेला जात्राका हिसाबले संचालन नहुने भएकाले दर्शनार्थीलाई मेलामा नआउन आग्रह गरेको वडाध्यक्ष गजुरेलले बताउनुभयो ।

कागेश्वरीमा पूर्वाधार निर्माणको काम भैरहेका छन् । कागेश्वरी धामका रुपमा धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

[sidebar name="button post"]