कोरोना कहर : तीज खल्लो, नाचगान छैन, मठमन्दिर सुनसान

समिता लुईटेल

भदाै ५, नाच्ने गाउने र रमाउने पर्व तीजमा यसपाली कुनै रौनक छैन । चेलिबेटी माइत जान पाएका छैनन् । न त सुख दुख र विरहलाई पोख्न पाए । मिठामिठा परिकार खाने, आफन्तसँग भेटघाट गर्ने, ब्रत बस्ने पर्व तीजमा चहलपहल देखिन्न । उत्साह छैन । कोरोना कहरका बिच आज शुक्रबार तीज पर्व मनाइदैछ ।

कोरोना कहर : तीज खल्लो

कोरोनाको महामारी तथा सरकारले गरेको निषेधाज्ञाका बीच आएको यसपालीको तीज निक्कै खल्लो बनेको छ । सबैतिर सुनसान र खल्लोपन मात्रै देखिएको छ । तीजको समयमा दिदी बहिनी माइतीमा भेला भई रमाईलो गर्ने हाम्रो परम्परामा यसपाली कोरोनाका कारण खल्लोपन देखिएको हो । विगतका वर्षहरूमा तीज आउनु भन्दा महिना दिनअघि देखि नै खर खाने र खुवाउने चलन थियो । यसकै कारणले रौनकता छाउथ्यो ।

हिन्दु परम्परा अनुसार भाद्र शुल्क द्धितियाका दिन दर खाएर तृतिया दिन निराहार ब्रत बस्ने तथा विभिन्न शिवालयहरूमा गई पूजा अर्चना गर्ने चलन रहदै आएकोमा यो वर्ष सुनसान भएको छ । विगतका वर्षहरूमा पानी पनि नखाई व्रत बस्तै आएकी धापाखेलकी करूणा सुवेदीलाई यसपाली कुनै उत्साह नजागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘सधै झै दिदी बहिनी बोलाएर रमाइलो गर्न नपाएकोमा खिन्न छु ।’

मठमन्दिर पनि सुनसान

कोरोना कहरले निकै सताएकोमा तीजको रौनक नदेखिनु स्वभाविक हो । डर र त्रासकाबीच खुसीले रमाउन नपाउनु पीडा छुट्टै देखिएको छ । भौतिक दुरी कायम राख्नु नै उच्च सतर्कताको पर्याय भएको यो अवस्थामा भेटघाटमा रमाइलो त परको कुरा विगतमा झै व्रत बसेर मन्दिर जानु सम्भव देखिदैन । मठमन्दिरमा समेत कुनै रौनक छैन । सरकारले कोरोना संक्रमण जोखिमका कारण मठमन्दिरमा भिडभाड गर्न रोकेको छ ।

तीजको खुसियाली कोरोनाको त्रासले छेकेपछि कुपन्डोलकी माया विष्टलाई पनि खिन्न लागेको छ । उहाँ भन्नुहुन्छ,‘डर र त्रासको बीचमा तीज पर्व मनाउन नपाए पनि रोग नियन्त्रणमा आईदिए खुसी लाग्ने थियो ।’

चाडपर्व खल्लो भए : अवस्था अनुसार रमाउन आग्रह

नेपालका मनाईने ठूला चाड पर्वमध्ये तीज पनि एक हो । विशेष गरेर महिलाहरू धुमधामका साथ उत्साहमय तरिकाले मनाउने तीजमा निषेधाज्ञापछि सबै घरभित्रै थुनिएको अवस्था छ । यसपाली विगतमा जस्तो मनाउन नपाएपनि घरभित्रै व्रत बसेर पूजा आजा गरि मनाउन सरकारको अनुरोध छ ।

प्राध्यापक डाक्टर रामचन्द्र पौडेल तीज मात्र नभएर दशै, तिहार जस्ता ठूला चाडपर्व पनि प्रभावित हुन सक्ने भन्दै अवस्था अनुसार रमाउन आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,‘सरकारले चार महिना पूर्ण रूपमा लकडाउन गरेर, श्रावण महिनामा खोलेर फेरि निषेधाज्ञा जारी गर्यो । यसले समस्या समाधान हुँदैन । डराउने होईन सचेत बन्नुपर्छ ।’

सर्वसाधारण पनि चाडपर्वमा रमाउनका लागि सरकारलाई साथ दिई सचेत बन्दै जिम्मेवारी र कर्तव्यबोध गर्नुपर्छ । विश्व अर्थतन्त्र कोरोना महामारीको चपेटामा रुमल्लिएको यो अवस्थामा घरमा चुल्हो बाल्ने अवस्था सृजना गरेर जे छ त्यसैमा रमाउदै अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।

[sidebar name="button post"]