जिल्लामा सङ्क्रमण बढ्न सक्ने देखिएकाले भन्दै सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ।
शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो।
जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो।
भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।
लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन्। अत्यावश्यक परेकाे अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए।









