३१ साउन, काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको पहिरो अनुगमनमा पुग्नुभएका गृहमन्त्री रामबहादुर थापाले उक्त बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको छ ।
पहिरोग्रस्त क्षेत्रमाको अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताउनुभयो । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीवृ बनाइने गृहमन्त्रीको भनाइ थियो ।
मन्त्री थापाले भन्नुभयो, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बास बसे पनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।” पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उहाँले बताउनुभयो । उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितका लागि उपयुुक्त स्थानमा बासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिनुभयो ।
गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पु¥याइएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडावर्तन, ४० वटा ब्ल्यांकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन र ६० थान पञ्जा लगिएको हो । सोहीक्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारका तर्फबाट रु दुई लाख हस्तान्तरण गर्नुभयो ।









