Ad #144479

साउन २७, दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरेर चितवनको कालिकानगर नगरपालिका ७ घर भई काठमाडौंको गोगंबुमा बस्दै आएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

हत्यापछि एम्बुलेन्स चढेर चितवन पुगेकी पौडेललाई काठमाडौं ल्याएर प्रहरीले सार्वजनिक गरेको हो । पौडेलले बोहरालाई दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट हालेर खुवाएको र लठ्ठ भएपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हत्या भएका बोहरा आठ महिनादेखि होटलमा बस्दै आएको र पौडेलसँग फेसबुक मार्फत् चिनजान बढेको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा पौडेलकी छोरीलाई पनि प्रहरीले चितवनबाटै पक्राउ गरेको छ । काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर १० को गोंगबु नवज्योति मार्गमा अस्ति आइतबार बोहोराको शव टुक्रा पारेर फालेको अवस्थामा भेटिएको थियो । शव टुक्रा–टुक्रा अवस्थामा भेटिएपछि प्रहरीलाई बोहराको पहिचान गर्नै समय लागेको थियो ।

प्रहरीले सोमबार बोहराको अनुहार सामाजिक संजालमा हालेपछि पहिचान खुलेको थियो । त्यस लगत्तै थालिएको अनुसन्धानका आधारमा प्रहरीले कल्पना मुडभरी पौडेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।