संक्रमित बढे : देशभरका कोभिड अस्पताल भरिन थाले

कोरोना संक्रमित बढ्दै गएपछि देशभरका कोभिड अस्पताल भरिन थालेका छन् । सरकारले कोरोना उपचारका लागि देशभर ३४ अस्पताल तोकेको थियो । प्रदेश सरकार र पालिकाले पनि केही अस्पताल व्यवस्था गरेका छन् ।

६ हजार तीन सय ३० सक्रिय संक्रमित मध्ये दुई हजार चार सय ११ जना मात्र कोभिड अस्पतालमा, बाँकी ३ हजार ९ सय १९ अस्पतालबाहिर छन् । प्रदेश २ मा मात्रै १२ सय ९ जना अस्पतालमा, काठमाण्डौ उपत्यकाका ६ कोभिड अस्पतालमा ४ सय २८ बेडमध्ये ३ सय ८२ संक्रमित छन् । तीमध्ये दुईवटामा क्षमता भन्दा बढी संक्रमित पुगिसकेका छन् ।

एक सय २० बेड क्षमता भएको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक सय २१ र आठ बेड क्षमता रहेको शिक्षण अस्पताल महाराजगन्जमा नौ संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा दुई सय ८१, काठमाण्डौ उपत्यका बाहेक बागमती प्रदेशमा १ सय ३४, गण्डकीमा १ सय २१, प्रदेश ५ मा १ सय ५५, कर्णालीमा ११ र सुदूरपश्चिममा १ सय १३ संक्रमित अस्पतालमा छन् । सिन्धुपाल्चोकको चौतारा अस्पतालमा पनि क्षमताभन्दा बढी संक्रमित पुगेका छन् ।

४० बेड क्षमताको यो अस्पतालमा ५५ जनाको उपचार भइरहेको छ । देशभरका कुन अस्पतालमा कति संक्रमितको उपचार भइरहेको छ, भन्ने आधिकारिक तथ्यांक भने सरकारसँग पनि छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा सबैतिरका अस्पतालमा उपचाररत संक्रमितहरूको तथ्यांक आउन नसकेको बताउनुभएको छ