एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टमा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको छ ।
अन्तिम चरणमा पुनः एक पटक परीक्षण भइरहेको बोर्डले जनाएको छ । परिक्षार्थीको नाम, थर, जन्ममिती र नम्बरमा कुनै त्रृटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिनुभयो । यसअघि बोर्डले साउन दोस्रो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने जनाएको थियो । तर कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिलाई भएको बोर्ड सदस्य अर्यालले बताउनुभयो ।
हतारमा नतिजा सार्वजनिक गर्दा त्रृटि हुनसक्ने र परिक्षार्थीलाई त्रृटि सच्चाउन काठमाण्डौ आउन समस्या हुने देखिएकाले पनि केहि ढिलाई भएको उहाँको भनाई छ । ‘विगतमा जस्तो नतिजाको चासो र हतारो छैन, यसपाली फरक तरिकाले मुल्याङकन भएकाले विद्यार्थीलाई पूर्वआँकलन समेत छ’ उहाँले भन्नुभयो,‘प्रमाणिकरण गर्ने काम मात्रै बाँकी हो ।’
यसपटक विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक हुँदैछ । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षाका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेडसिट प्रदान गर्नेछ ।
माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० को विद्यार्थी मूल्याङकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधिमा विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने उल्लेख छ । यसपाली एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।