साउन २३, काठमाण्डौ। यो वर्ष मनसुन सक्रिय भएयता अहिलेसम्म विभिन्न विपद् मा परेर दुई सय जनाको ज्यान गएको छ । नेपाल जेठ ३० गतेदेखि मनसुन सुरु भएकाे हाे । पहिरोमा परेर एक सय ७६, बाढीमा परेर पाँच र चट्याङ लागेर १९ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपद् मा परेर ५४ जना अझै हराइरहेका छन् भने एक सय ९० जना घाइते भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा विपद्का १० वटा घटना भएका छन् । घटनामा परि चार जनाको ज्यान गएको छ भने ३८ लाख ५७ हजार रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै दैलेखको महाबुगाउँपालिका ५ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बैतडीको डिलासैनी गाउँपालिका ४ मठैराजमा पहिरोले घर भत्काउँदा आमा र छोराको च्यापिएर ज्यान गएको छ ।
यसैबीच सिरहाको गोलबजार नगरपालिका २ मा धुपबाट आगलागी हुँदा स्टेसनरी पसल नष्ट भएको छ भने सप्तरीको सुरुङ्गा नगरपालिका १० मा विद्युत् शर्ट भइ आगलागी हुँदा घर पूर्णरुपमा क्षति भएको छ । यता पहिरोका कारण पर्वतको जलजला गाउँपालिका ३ मा पर्ने बेनी मालढुङ्गा सडकखण्ड बन्द भएको छ ।
साथै अबको २४ घण्टाभित्र कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकोले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । शुक्रबार कन्काई पश्चिम, वाग्मती, कमला, राप्ती, बबई र यसका सहायक नदीमा पनि बहाव बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।