काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ । “पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ ।
जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “शुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ ।
यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।” बिहीबार सम्पन्न कामपाको ५०औँ कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । उहाँले गृह प्रशासनले असुरक्षितरूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन जोखिम हुने बताउनुभयो । काठमाडौं उपत्यकामा हालसम्म ५७३ जनामा कोरोना भाइरसको पुष्टि भएकोे छ ।