काठमाडौंं उपत्यकाका तीन जिल्लाको सुरक्षा केन्द्रीय प्रहरी मातहत नै रहने गरी प्रहरी समायोजन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।
प्रहरी समायोजन सम्बन्धमा छलफल गर्न हिजो प्रधानमन्त्री निवासमा गएको गृह मन्त्रालय तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको टोलीलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । देशको केन्द्रीय राजधानीको सुरक्षा संवेदनशील हुने भएकाले यसलाई केन्द्रीय प्रहरी नै खटाउनुपर्ने प्रधानमन्त्रीको राय रहेको गृह मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
अब केन्द्रमा ३० हजार तथा प्रदेशहरूमा झण्डै ५० हजार प्रहरीको दरबन्दी रहनेछ । बागमती प्रदेशले भने नियमित शान्ति सुरक्षाको काम प्रदेशलाई नै दिएर केन्द्रीय प्रहरीको कुनै संरचना राख्न सकिने प्रस्ताव राखेको थियो ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै गृहले त्यहीअनुसार समायोजन प्रक्रिया अघि बढाउन लागेको छ । गृहसचिव नेतृत्वको संगठन संरचना तथा दरबन्दी कायम गर्ने समितिको बैठक बसेर संघ र प्रदेशको दरबन्दी टुंगो लगाउने तयारी छ ।