आज नाग पञ्चमी पर्व : कोरोना संक्रमण जोखिमबाट जोगिएर मनाइदै

 अनिता धिताल

आज नाग पञ्चमी पर्व मनाइदैछ । नागको पूजाआजा गरी घरका मूलढोकामा नागको तस्बिर टाँसिन्छ । नागपञ्चमीको दिन देशभरिका नागपोखरी तथा नाग मन्दिरमा नाग पूजा गर्नेहरु भिड लाग्ने गर्छ । तर यसपाली कोरोना संक्रमण जोखिमका कारण सरकारले धार्मिक कार्यमा भेला नहुँन आग्रह गरेकाले चहलपहल छैन ।

विगतमा काठमाडाँैको नागपोखरी, टौदह, ललितपुरको धापाखेलमा रहेको नागपोखरी, भक्तपुरको सिद्धपोखरी लगायत नागदह र कुण्डहरुमा नागको पूजाआजा हुँदै आएको थियो । नागपञ्चमीमा नागलाई गाईको दूध, अक्षता, दूबो, खीर र रोटी लगायत परिकार चढाउने गरिन्छ ।

यसरी नागको पूजा गर्दा र तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायत जीवले दुःख नदिने र आगो, चट्याङ लगायत विपदबाट बच्न सकिने हिन्दु धर्माबलम्बीको मान्यता छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको पंण्डित नारायण आचार्यले जानकारी दिनुभयो ।

हिन्दु धर्मका धार्मिक पुस्तकमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ नागको विशेष वर्णन गरिएको छ । नागपञ्चमीमा यिनै नागको सम्झना गर्दै पूजा गर्ने चलन छ ।