कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाब दिएका छन्।
छिमेकीमूलुक भारतमा समुदाय स्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले घर बाहिर निस्कदा मास्क, स्यानिटाइजर र सामजिक दूरी कामय राख्नुपर्ने बताउनुभयो ।
सरकारले कोभिड–१९ को कारणले गरेको बन्दाबन्दी यही साउन ७ गतेदेखि अन्त्य गरेको हो । बन्दाबन्दीको अन्त्यसँगै उपत्यकामा सवारी साधन सञ्चालन हुन थालेर मानिसको भीडभाड हुन थालेको छ । यसैगरी बाहिर निस्कँदा हातले केही वस्तु छोए पनि स्यानीटाइजर लगाउनुपर्ने, कोही व्यक्तिसँग कम्तीमा दुई मिटर टाढा रहनुपर्ने, भरसक बसमा यात्रा नगर्ने, गर्नेपरे स्वास्थ्यमा न्यूनतम मापदण्ड अपनाउन समेत विज्ञले सुझाव दिनुभएको छ ।
मन्त्रालयले कोभिड–१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड–२०७७ मा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने, घर बाहिर जाँदा मास्कको प्रयोग र सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानीटाइजरको अनिवार्य व्यवस्था मिलाउनुपर्ने र भवन प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धोको वा स्यानीटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने जस्ता सावधानी अपनाउने कुरा उल्लेख छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा सागरराज भण्डारीले उपत्यकामा भीडभाड बढेकाले सङ्क्रमणको जोखिम रहेको बताउनुभयो । उहाँले उपत्यकामा विदेशबाट आउने र बन्दाबन्दीमा बाहिर गएका मानिस पनि भित्र्ने क्रम बढेकोले सङ्क्रमण बढ्ने खतरा रहेको औँल्याउनुभयो ।
उपत्यकामा समुदायस्तरमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन भनेर अग्रपङ्क्तिमा काम गर्ने बैंक, सरकारी कार्यालयका कर्मचारी गरी करिब पाँच हजार ५०० मा गर्ने परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा राजभण्डारी आफू बच्न र अरुलाई बचाउन पनि भीडभाड, जमघट भएको स्थानमा जान नहुने बताउनुहुन्छ ।
सार्वजनिक यातायातमा यात्रा गर्दा एक पङ्क्तिको सिटमा एक जना क्रस गरेर बस्ने व्यवस्था मिलाएर, स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले मास्कको प्रयोग गर्नुपर्ने छ । नेपालमा १८ हजार २४१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ४३ जनाको निधन भएको छ भने १२ हजार ८४० जना निको भई घर फर्किएका छन् । विश्वमा एक करोड ४० लाख ४३ हजार १७६ जनामा सङ्क्रमण देखिएको छ भने पाँच लाख ९७ हजार ५८३ जनाको मृत्यु भएको छ । –––