नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको ‘लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल व्यवसायी सरोकार समिति’का उपाध्यक्ष पेम्बा लामाले जानकारी दिनुभयो ।
नेपाल सरकारले यही साउन १५ देखि होटल व्यवसाय सुचारु गर्ने जनाए पनि साउन १० गते नागपञ्चमीदेखि गोसाइँकुण्ड जान नुवाकोटस्थित पदमार्गमा धर्मालम्बी आउने अपेक्षासहित होटल सञ्चालनमा ल्याइएको छ । ‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर थप सेवा र सुविधासहित सञ्चालित होटल कोभिड–१९ को जोखिमका कारण बन्द भएकोमा बन्दाबन्दी खुला भएसगैँ सञ्चालन गरिएको छ ।
हिन्दू र बौद्ध धर्मालम्बीको अस्थाको केन्द्र गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा लाग्ने मेलाको स्नान नागपञ्चमीदेखि नै शुरु हुने गर्दछ । गोसाइँकुण्ड पुग्न रसुवाको धुञ्चेहँुदै जाने पदमार्ग मुख्य हो भने विकल्पमा दुई दशकअघि नुवाकोटको घ्याङ्फेदीबाट खोलिएको पदमार्ग सुन्दरीजल (काठमाडौँ)बाट शुरु हुने गर्दछ ।
गाउँपािलका अध्यक्ष तामाङका अनुसार काठमाडौँको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गनीगोठ हँुदै छहरेपाटी, घोप्टेभीरबाट सिधँै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्न सकिने छ । उक्त पदमार्ग हँुदै सुन्दरीजलबाट गोसाइँकुण्ड दुई दिनमा सजिलै पुगिन्छ । जेठ महिनामा पर्ने दशहरा पर्व कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भए पनि जनैपूर्णिमा पर्वमा आंशिक रुपमा तीर्थयात्री सहभागी हुने अपेक्षाको साथमा भन्दै पदमार्गमा पर्ने होटल व्यवसायी सेवा सञ्चालनको लागि तयारीमा जुटेका छन् ।








