गएकाे चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हट्ने

काठमाण्डाै – गएकाे चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हट्ने भएको छ । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताउनुभयो । लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो ।

सरकारले मङ्गलबार रातिदेखि लकडाउन खुला गर्ने निर्णय गरे पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थल, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लर, स्विमिङ पुललगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उहाँले बताउनुभयो । यद्यपि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उहाँले बताउनुभयो ।

सरकारले साउन १५ गतेबाट होटल, रेस्टुरेन्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । तर सेमिनार र भेला भने गर्न नपाइने उहाँले बताउनुभयो ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।