साउन ६ । चीनले सोमबार खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको नेपाललाई जानकारी गरायो । लगत्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी क्षेत्रको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्यो । आत्तिहाल्नु नपर्ने तर जोखिम क्षेत्रमा सर्तकता अपनाउनुपर्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभएको छ ।
सूचनाका आधारमा भोटेकोशी र सुनकोशी नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । केरुङ छ्यो ताल फुटे भोटेकोशी नदीमा बाढी आउने सम्भावना बढी छ । प्रशासनले तल्लो तटीय क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाका नागरिकलाई सुरक्षाका उपाय अपनाउन सचेत गराएको छ ।
खासा क्षेत्रमा निरन्तर पानी परिरहे जुनसुकै बेला ताल फुट्न सक्ने जोखिम छ । चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केहीमाथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । जोखिम क्षेत्रमा रहेका पालिकाले समेत नदी तटीय क्षेत्रका बासिन्दालाई सम्भावित घटनाका बारेमा सूचना प्रवाह गरिरहेका छन् ।
२०७३ साल असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाएको थियो । साथै तल्लो तटीय क्षेत्रमा क्षति र्पुयाएको थियो । त्यतिबेला झण्डै डेढ सय घर, संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड समेत तहसनहस भएको थियो ।
लगातार पानी पर्दा ताल भरिँदै जाने र पानी निकास हुने क्रममा कटान गर्ने भएकाले फुट्ने जोखिम हुने हिमतालसम्बन्धी अनुसन्धानकर्ता एवं भुगर्भ विज्ञ श्रीकमल द्विवेदीले बताउनुभयो ।
क्षति पुग्ने क्षेत्रहरु भने निम्न छन् ः
भोटेकोशी नदी तिब्बत हुँदै नेपाल बग्छ । मितेरी साँघुबाट नेपाल–चीन सीमामा रहेको कोदारी आइपुग्छ । नेपालपट्टि सिन्धुपाल्चोकको कोदारीबाट बाह्रबिसे हुँदै काभ्रे र सिन्धुपाल्चोकको सीमा क्षेत्र दोलालघाट आइपुग्छ । बाह्रबिसे नजिकै भोटेकोशीमा सुनकोशी पनि मिसिन्छ ।
दोलालघाट आइपुग्दा इन्द्रावतीसँग मिलेर पूर्व लाग्छ अनि दोलखा, रामेछाप र सिन्धुली हुँदै बग्ने तामाकोशी नदीसमेत मिल्न आउँछ । रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बुबाट बगेर आएको नदी लिखु र दुधकोशी, धनकुटाबाट बहने तमोर र अरुण मिसिएर सप्तकोशी नदी बन्छ । सुनकोशी, इन्द्रावती, तामाकोशी, लिखु, दुधकोशी, अरुण र तमोर गरी सात वटा सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी भनिन्छ । सप्तकोशी सुनसरीको बराह क्षेत्र त्रिवेणीमा एकत्रित हुन्छ अनि चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्छ । त्यसपछि कोशी बाँध पार गरेर भारत प्रवेश गर्छ ।
सप्तकोशी भारतको विहार राज्यको कर्सेलाघाटमा गङ्गा नदीमा मिल्छ । त्यसैले भोटेकोशीमा बाढी आए नेपालका नदी तटीय क्षेत्रसहित भारतको विहारसम्म क्षति पुग्छ । तर क्षति पुग्ने असर बाढीको बहाव, जमिनको भू–बनोटमा भर पर्छ ।
कसरी सुरक्षित रहने ?
ताल फुटे एकैसाथ पानी बग्छ । बगेको पानीले खोला खोल्साका ढुङ्गा, माटोसहित गेग्रान सँगै लिएर बग्छ । यो बाढीले खोला, किनार आसपासमा भएका संरचनासहित बस्तीलाई समेत क्षति गर्छ । बाटो, पुल, जलविद्युत् केन्द्र लगायतका संरचना भत्काउने हुन्छ ।
एक्कासी आउने बाढीले मानवीय क्षतिसमेत हुने भएकाले पूर्वसूचना महत्त्वपूर्ण हुने अनुसन्धानकर्ता द्विवेदी बताउनुहुन्छ । ‘पहिला एकैचोटि बाढी आउँथ्यो’, उहाँले भन्नुभयो, ‘यसपाली तिब्बत क्षेत्रबाट पूर्वसूचना आयो, जुन महत्त्वपूर्ण छ ।’ पूर्वसूचना अनुसार जोखिम क्षेत्र पहिचान गरी सुरक्षित रहने अनि ताल फुट्यो भने पनि थप क्षति हुनबाट जोगिन सूचना प्रवाहको संयन्त्र बनाउनुपर्छ ।