नदीमा बहाव बढ्दो : सावधानी अपनाउन अनुरोध

दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ ।

बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो । बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ । यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ ।

अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ ।

उपत्यकाबाट वाग्मती र सहायक नदी तटीय क्षेत्रसमेत उच्च जोखिममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका आसपासका सहायक नदीमा बहाव बढ्दो रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तिनाउ खतराको आसपास पुग्ने, कर्णाली र महाकालीमा समेत बहाव बढ्ने छ । आज बिरिङ, बक्राहा, निन्दा, लोहन्द्रा, चिसाङखोला, त्रियुगा, खाडो, चुरियाखोला, लालबकैया, बाणगङ्गालगायत प्रदेश नं १, २ र ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बग्ने प्राय नदीमा बहाव बढ्ने र सतर्कता तहसम्म पुग्ने तथा केही नदी खतरा तहसम्म पुग्ने जनाइएको छ ।

आज प्रदेश नं १ को केही जिल्ला, प्रदेश नं २ का सबै जिल्ला, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको छ । साउन ७ गते भने कोशी, नारायणीमा बाढीको बहाव घट्ने र सतर्कता तह आसपास रहने जनाइएको छ तर कमला, वाग्मती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतका नदीमा भने बहाव बढ्ने छ । केहीमा आकस्मिकरूपमा बहाव बढी खतराको तहसम्म पुग्ने छ ।

[sidebar name="button post"]