कागेश्वरी मनोहराका टोल टोलमा नगरप्रमुख

अजय खत्री

 ३ साउन , काठमाण्डौ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख ‘टोल टोलमा मेयर’ कार्यक्रम लिएर नागरिकको घरदैलोमा पुग्न व्यस्त हुनुभएको छ । नागरिकको गुनासासँगै भैरहेका विकास निर्माणका कामको अवस्था बुझ्न नगरप्रमुख व्यस्त हुनुभएको हो ।

कागेश्वरी मनोहरा  नगरपालिकाका प्रमुख कृष्णहरी थापाले नगरपालिकाले भर्खर सुरु गरेका, अघिल्लो आर्थिक वर्षमा काम सुरु भैसकेका विकास निर्माणका कामको अवस्थासँगै नागरिकहरु के भन्छन् ? बुझ्न घरदैलोमा पुग्नुभएको हो ।

नगर प्रमुख थापा साउन १ गते वडा नम्बर १ गागलफेदी र २ गते कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर २ आलापोटमा पुग्नुभयो । नगर प्रमुख थापाले टोल टोलमा पुगेर विकास निर्माणका काम, अहिले भैरहेको प्रगति र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाको बारेमा टोलबासीसंग छलफल गर्नुभएको हो । टोल टोलमा पुगेका नगर प्रमुखसँग टोलबासीले पनि रायसुझाव दिने मौका पाएका छन् ।

स्वच्छ, सफा, हराभरा, बनाऔं कागेश्वरी मनोहरा भन्ने नाराका साथ आफूहरु नगरपालिकाको समग्र विकास र समृद्धिमा लागि परेको उहाँको भनाई छ ।

साउन ३ गते शनिवार उहाँले वडा नम्बर ८ को नगरपालिकाको योजनामा युवाहरूलाई लक्षित गरी बन्दै गरेको बिरभद्र क्लबको नयॉ भवनको अनुगमन गर्नुभयो ।

अहिलेसम्मको अनुगमन र भेटघाटमा धेरैजसो विकास निर्माण र आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको पाइएको छ । तर केहि आयोजना भने सरकारले कोरोना संक्रमण जोखिमका कारण गएको चैत ११ गतेदेखि गरेको लकडाउनका कारण प्रभावित भएका छन् ।

त्यस्तै केहि आयोजना थप गर्नुपर्ने सुझाव समेत प्राप्त भएको नगरप्रमुख थापाले बताउनुभयो । घरदैलोका बेला नागरिकका अपेक्षा समेत सुन्न पाइयो उहाँले भन्नुभयो । नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, कृषि, पुनर्निर्माण लगाएतका काम भैरहेका छन् ।

आगामी दिनहरुमा आफ्नो नगर भित्र रहेका र छिमेकी नगरहरु गोकर्णेश्वर र शंखरापुरसँग समेत समन्वय गरी खालि रहेका जग्गाहरुको सदुपयोग कसरी गर्न सकिन्छ ? भनेर जोरपाटीमा कार्यालय स्थापना गरेर काम सुरुवात नै गरिसकिएको  पनि उहाँले बताउनुभयो ।

खालि जग्गाहरुको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ समन्वय गरेर अघि बढ्ने काम भैरहेको उहाँको भनाई छ । काठमाण्डौका ११ वटा स्थानीय तहमध्ये कागेश्वरी मनोहरा एउटा नगरपालिका हो । ९ वटा वडा रहेको नगरपालिकामा झण्डै ६० हजार जनसंख्या छ ।

 

[sidebar name="button post"]