अजय खत्री
३ साउन, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि घरवारविहिनको विवरण संकलन गर्न ढिलाई भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३१ बैशाख २०७७ मै सबै स्थानीय तहलाई विवरण संकलन गर्न सार्वजनिक सुचना निकालेको थियो ।
तर सुचना सार्वजनिक भएको तीन महिना पूरा भएपनि कागेश्वरी मनोहरा नगरपालिकामा अहिलेसम्म गरीबीको रेखामूनि रहेका, प्राकृतिक विपद्का कारण घरवारविहिन भएकाहरुको विवरण संकलन भएको छैन ।
नगरपालिकाले सबै वडालाई घरवारविहिनको विवरण दिन परिपत्र गरेपनि वडाले विवरण संकलन नगर्दा ढिलाई भएको हो ।
सरकारले घरवारविहिन रहेका, प्राकृतिक प्रकोपले क्षतिग्रस्त भएपछि घर निर्माण गर्न नसकेका, आर्थिक अभावले आफ्नै नयाँ घर निर्माण गर्न नसकेका तर आफै बनाउन चाहेकाहरुका लागि सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएर सबैको आफ्नै घर निर्माण अभियान थालेको हो ।
मन्त्रालयले आफ्नो घर आफै बनाउन चाहनेलाई जस्तापाता, सहुलियत दरमा काठ, निर्माण सामग्री उपलब्ध गराउँछ । यस कार्यक्रम अन्तर्गत घर निर्माणका लागि नगद पैसा नभई निर्माण सहयोगी हुने सामान दिने सरकारको योजना हो ।
तर अहिलेसम्म पनि वडाले विवरण नदिदा घरवारविहिनको वास्तविक तथ्यांक नै आउन सकेको छैन । जसकारण सरकारले दिन भनेको सहयोग सम्बन्धित सेवाग्राहीले नपाउने हुन् की भन्ने चिन्ता थपिएको छ ।
नगरपालिकाका सुचना अधिकारी लिजना खड्काका अनुसार सबै वडालाई भदौ मसान्तभन्दा अगाडी नै घरवारविहिनको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
‘हामीले सबै वडालाई परिपत्र जारी गरिसकेको छौ’ नगरपालिकाका सुचना अधिकारी खड्काले भन्नुभयो, ‘सायद अब साउन महिनामै वा भदौसम्ममा सबै वडाले विवरण पठाएपछि मन्त्रालयलाई उपलब्ध गराउँछौ ।’