नेपालमा थप १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा चार हजार ९८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २१३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २४९ जना रहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ ।