काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ ।
बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।
महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना सङ्कलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरिने बताउनुभयो ।
केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ । केही दिनअघि एकैदिन उपत्यकामा ५४ सङ्क्रमित भेटिएका थिए । यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गर्नेछ ।
सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ । अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ । यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ ।