इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ ।
बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।
महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना सङ्कलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरिने बताउनुभयो ।
केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ । केही दिनअघि एकैदिन उपत्यकामा ५४ सङ्क्रमित भेटिएका थिए । यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गर्नेछ ।
सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ । अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ । यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ ।