आन्तरिक उडानको इजाजतका लागि नागरिक उड्डयन मन्त्रालयमा यती एयरलाइन्सको निवेदन
सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र यती एयरलाइन्स कम्पनीको प्रस्ताव परेको छ ।
आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी संस्था तारा एयरमार्फत अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको मन्त्रालयले जनाएको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि मात्रै इजाजतका लागि निवेदन दिएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताउनुभयो । मन्त्रालयको हवाई महाशाखाका अनुसार यतीले ‘सेडुअल’ उडानका लागि नभई चार्टर्ड उडानका लागि मात्रै इजाजत मागेको छ ।
इजाजतका लागि प्राप्त कागजातको अध्ययन गरी निर्णय गर्न मन्त्रालयको हवाई महाशाखा प्रमुखसमेत रहनुभएका सहसचिव आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिमा नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा आमन्त्रित विज्ञ सदस्य रहनेछन् । उक्त समितिले सम्पूर्ण कागजातको अध्ययन गरी मूल्याङ्कनको आधार किटान गर्नेछ ।