काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अनेकन भ्रमपूर्ण समाचार प्रसारण गर्न थालेपछि नेपालमा भारतीय समाचार च्यानलको प्रसारण रोकिएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर एमएसओले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका हुन ।
वितरकहरुले दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको छ । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको हो ।
भारतीय सञ्चारमाध्यमले खासगरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीका विषयमा अनेकन भ्रमपूर्ण सामग्री प्रसारण गरिरहेका थिए । भारतीय मिडियाप्रति आक्रोश बढेका बेला प्रसारण नै रोक लगाएपछि यो निर्णयप्रति समर्थन बढेको छ ।
भारतीय सञ्चारमाध्मयका सामग्रीप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ती निकालेर आपत्ति जनाएको थियो ।









