स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड-१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७’ जारी गर्दै लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्न मिल्ने गरी मापदण्ड जारी गरेको छ।
संक्रमणको कुनै लक्षण तथा चिन्हहरू नभएका र सामान्य लक्षण तथा चिन्हहरू भएका संक्रमित व्यक्तिहरू आ-आफ्नै घरमा आइसोलेसनमा राख्न र बस्न सक्नेछन् भनिएको छ। घरमा बस्दा प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने भनिएको छ।
साथै उपचार अवधिभरि बाहिर ननिस्कने आवश्यक सामग्रीहरू परिवारका सदस्यबाट मगाउनुपर्ने संक्रमितले प्रयोग गर्ने भाँडाहरू सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्न भनिएको छ।
घरमा संक्रमितले छुट्टै स्नानघर र शौचालय प्रयोग गर्नपर्ने र सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि डिस्इन्फेक्ट गरेपश्चात मात्र अन्यले प्रयोग गर्ने मापदण्डमा उल्लेख छ।
त्यस्तै घरमा ६० वर्षमाथिका सदस्य वा गर्भवती तथा सुत्केरी माहिला छन् भने त्यस्ता व्यक्तिलाई संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्ने भनिएको छ।
यस्तै संक्रमितले दैनिक तीनपटक ज्वारो जाँच्ने र त्यसको विवरण राख्नुपर्ने हुन्छ। साथै परिवारका सदस्यले संक्रमितको स्वास्थ्य अवस्थाबारे दिनको कम्तीमा दुईपटक सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा मेसेज मार्फत जानकारी गराउनुपर्ने वा भर्जुअल विधि तथा स्वास्थ्य मन्त्रालयले विकास गरेको मोबाइल एप्लिकेशन मार्फत जानकारी गराउन भनिएको छ।
संक्रमित व्यक्तिमा श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महशुस भएमा, ओठ तथा अनुहार निलो देखिएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई जानकारी गर्नुपर्नेछ।