राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवा सुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयलाई आग्रह गरे ।

४ मंसिरमा हुने निर्वाचनको तयारी र संसद्को आयु लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका हुन् ।

‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउन मात्रै संसद् आइँदैन भनेर आउन छोडेको थिएँ,’ बैठकमा उनले भने, ‘तर, पछिल्लो दिनमा संसद्को आयु मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलब भत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने नियमानुसार लेखेर पनि दिन्छु ।’

मंसिर ४ पछि पनि संसद्को आयु कायम राख्ने अनैतिक काममा सहभागी हुन आफ्नो आत्माले नमानेको उनको भनाइ छ ।

[sidebar name="button post"]