नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

२८ असोज, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ ।

उहाँले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिनुभएको हो । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिनुभएको छ ।

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।