१९ असोज, बीबीसी। विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिव ६ घण्टाको अवरोधपछि सुल्झिएको छ ।
फेसबुक लगायतका यी तीन वटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट बञ्चित भएका थिए । ६ घण्टा पछि यी सामाजिक सञ्जालमा देखिएको समस्या समाधान भएको फेसबुकले जनाएको छ।
यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी समेत मागेको छ।
We’re aware that some people are having trouble accessing Facebook app. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
— Facebook App (@facebookapp) October 4, 2021
उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ।
साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्। समस्याको वास्तविक कारण खुलाइएको छैन ।
विश्वव्यापी रूपमा अवरोध झेलेको ६ घण्टापछि फेसबुक र उक्त कम्पनीका अन्य सोसल मिडिया मञ्चहरू ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएका छन्।
फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले ‘१०० प्रतिशत’ काम गर्न भने केही समय लाग्ने बताएका छन्।यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो समस्या अहिलेसम्मकै ठूलो अवरोध भएको जनाएको छ । यो समस्याबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए।
यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो। पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेयरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको बीबीसीले जनाएको छ ।












