असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

७ असोज, काठमाण्डौ। काठमाण्डौ उपत्यकाबाट दशैंमा घर जानेहरुका लागि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने माग राख्दै आएका भए पनि सडक मर्मत गर्ने वचनपछि टिकट खुलाउन सहमत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दशैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताउनु भयो।