२३ भदौ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति काठमाण्डौ उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको छ।भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ । सोही प्रणालीका कारण गत आइतबार राति काठमाण्डौ उपत्यकामा अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए । यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ ।
महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ । त्यसमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाण्डौ उपत्यकासहितको क्षेत्र हो ।









