कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि कोरोना खोप, ४० वर्ष माथिकाले पनि पाउने

४ भदौ, काठमाण्डौ। काठमाण्डौमा आजदेखि तीन दिनसम्म कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई पनि कोरोनाविरूद्धको पहिलो मात्रा खोप लगाइँदै छ । स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ।

१८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।साथै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ।

काठमाण्डौ महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइन्छ।खोप लगाउने सम्बन्धी सूचनामा ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने उल्लेख छ ।

त्यस्तै सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क, निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसुती गृह थापाथली, शिक्षण अस्पताल महाराजगञ्जबाट पनि कोरोनाविरूद्ध खोप लगाउन सकिन्छ।