अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ जना नेपाली काठमाण्डौ आइपुगे

१ भदौ, काठमाण्डौ। अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर्ड बिहानमा उनीहरू बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरि कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना अघि बिहान आइपुगेका हुन् । उनीहरूलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल ल्याइएकाहरुको स्वास्थ्य जाँच गरेर सङ्क्रमण भएमा उपचार पछि घर पठाइने र सङ्क्रमण नभए सिधै घर पठाइने छ ।

विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ । कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।