कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा नगर्न सिफारिस

२२ श्रावण, काठमाण्डौ । कोरोना महामारीको जोखिमका बेला भौतिक उपस्थितिमा परीक्षा गर्नु उयुक्त नहुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बताउँदै आएको थियो । तर कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

उनले शिक्षा मन्त्रालयसँगको समन्वयमा परीक्षाहरु स्थगित गर्न सीसीएमसीमा आफूले सिफारिश गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’