एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

२२ श्रावण, काठमाण्डौ। नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि छ । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजेपछि दाेस्राे दिनकाे बैठक सुरु हुने छ। पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हाे।

बिहीबारको बैठकमा सामेल केही केन्द्रीय सदस्यहरुले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादबारे आ–आफ्नो धारणा राखेका थिए।

बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन् ।

बैठकमा नेता भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमतिबारे ब्रिफिङ्ग गरेका थिए।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रभावित पार्ने किसिमले उत्तेजक भाषण नदिन नेताहरूलाई आग्रह गरेका थिए।