ओली-नेपालबीच भेटवार्ताको तयारी

१९ श्रावण, काठमाण्डौ। नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयासस्वरुप मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । दुई नेताबीच मंगलबार साँझसम्म भेटवार्ता हुने स्राेतले बताएकाे छ ।

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।

यसअघि ओलीनिकट नेताहरू नेम्वाङ र विष्णु पौडेलले वरिष्ठ नेता नेपालसँग पटक पटक कुरा गरेका थिए। यसअघि नेपाल ओलीसँग भेट्न इच्छुक थिएनन्। एमालेमा लामो समयदेखि अध्यक्ष ओली र नेता नेपालबीच विभिन्न विषयमा कुरा मिलेको छैन।

पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए। अध्यक्ष ओलीले नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताउँदै आएका छन्।