कोरोना संक्रमण बढेपछि सिंहदरबारमा सीसीएमसीको बैठक बस्दै

१५ श्रावण, काठमाण्डौ। कोरोना संक्रमण बढ्न थालेपछि सीसीएमसीको बैठक बस्ने भएको छ। शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पछिल्ला केहीदिन यता लगातार कोरोना संक्रमण बढिरहेको छ। कोरोना संक्रमण बढ्नेसँगै तेस्रो लहरको पनि बहस सुरुभएपछि सीसीएमसीको बैठक बस्न लागेको हो। विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेपछि पहिलो पटक सीसीएमसीको बैठक बस्न लागेको छ। यसअघि नै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण तथा रोकथाम हुने बताइसकेका छन्।