बलात्कार मुद्दामा महराले पाए उच्च अदालतबाट पनि सफाइ

१२ श्रावण, काठमाण्डौ। पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ ।

मंगलबार उच्च अदालतले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सफाइ दिएको छ । उच्च अदालतले काठमाण्डौ जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्‍यो ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । आरोपपछि उनले २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।

२०७६ असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । उनलाई २०७६ फागुन ५ गते काठमाण्डौ जिल्ला अदालतले सफाइ दिएको थियो ।