बेइजिङबाट ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको जहाज आइपुग्यो

१८ जेष्ठ, काठमाण्डौ। नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाण्डौ आइपुगेको छ। चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार दिउँसो नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।

योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ गएको थियो। उक्त खोप लिएर जहाज मंगलबार दिउँसो नेपाल आइपुगेको हो। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निस्शुल्क नेपाल ल्याइदिने भएको छ।

यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो। त्यसमा पनि बढी काठमाडौं र आसपासका ठाउँहरूमा केन्द्रित गरिएको थियो। त्यो बेला खोप थोरै रहेको र काठमाण्डौमा बढी जोखिम रहेको ठहर गर्दै सरकारले खोपलाई काठमाण्डौमा केन्द्रित गरेको हो।