नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेष्ठ, काठमाण्डौ। चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीचको टेलिफोन कुराकानीमा यस्ताे बताएका हुन् ।

टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा समेत गरेका छन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकाे कुरा सामाजिक सञ्जाल ट्विटबाट जानकारी गराएकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । बुधबार टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

आज दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको कुराकानीमा राष्ट्रपति भण्डारीले कोभिड(१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।