६ जेष्ठ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली तथा वर्षा भएको हुने देखिएको हो ।
अहिले देशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।












